काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असार १ गते बसेको प्रतिनिधि सभाको बैठकका लागि प्राप्त हुने भत्ता नलिने निर्णय गरेको छ।


राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै उक्त दिनको बैठक बहिष्कार गरिएको भन्दै भत्ता अस्वीकृत गर्न अनुरोध गरेका छन्। राप्रपाले भिजिट भिसा प्रकरणसँग सम्बन्धित आफ्ना मागहरूमा सरकार गम्भीर नभएको भन्दै संसद अवरोध जारी राखेको थियो।


शाहीद्वारा लेखिएको पत्रमा उल्लेख छ, “राप्रपाले २०८२ असार १ गतेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको सर्वविदितै छ। जबर्जस्ती रूपमा संसद सञ्चालन गर्नु अनुचित ठहरिँदै बैठक बहिष्कार गरिएकाले सो दिनको बैठक भत्ता राजस्वमा फिर्ता गरिदिन अनुरोध गर्दछौं।”


उनले नैतिक र सैद्धान्तिक हिसाबले बहिष्कृत बैठकको भत्ता लिनु उपयुक्त नहुने भन्दै उक्त भत्ता नलिने निर्णय पार्टीले सर्वसम्मत रूपमा गरेको जानकारी गराएका छन्।


शाहीले लेखेको पत्रमा थप भनिएको छ, “उक्त दिनको बैठक भत्ता उपलब्ध नगराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।”