काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा आज हाजिर भएका छन्। तीनकुनेमा चैत १५ गते भएको  आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। सो घटनासँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएपछि उनी अदालतमा हाजिर भएका हुन्।

तीनकुनेमा भएको आन्दोलन शान्तिपूर्ण प्रदर्शनका क्रममा मिश्रसहित केही नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

आज अदालतमा मिश्रको हाजिरीसँगै थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसको क्रममा अभियोजन पक्ष र प्रतिवादी पक्षबीच मिश्रलाई थुनामा राख्ने वा नराख्नेबारे कानुनी तर्कहरू प्रस्तुत गरिनेछ। मिश्रका कानुनी प्रतिनिधिहरूले उनलाई राजनीतिक रूपमा लक्षित गरिएको भन्दै थुनाबाहिर राख्नुपर्ने माग गर्दै बहस गरिरहेका छन्।

अदालतले केही दिनभित्र मिश्रको थुनछेकसम्बन्धी निर्णय सुनाउने अपेक्षा गरिएको छ।