काठमाडौं— नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक कार्यक्रम सार्वजनिक गरेको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४, ५ र ६ गतेसम्म तीन दिन पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाइनेछ। त्यस्तै, असार ५ गते बिहीबार पार्टीका सबै तहका कार्यालयहरू बन्द गरिने निर्णय गरिएको छ।
शास्त्रीको निधनको १३ दिनसम्म पार्टी कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ भने १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभा आयोजना गरिने कांग्रेसले जनाएको छ।
शास्त्रीको असार २ गते काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा निधन भएको थियो। विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय रहेका शास्त्री प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा सक्रिय सहभागी थिए। उनले लामो समय जेल जीवन बिताएका थिए भने भारत प्रवासमा रहेर पनि कांग्रेस आन्दोलनमा योगदान दिएका थिए।
शास्त्री नेपाली कांग्रेसका महान नेता बीपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक तथा प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत थिए। कांग्रेसले उनलाई एक बौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञका रूपमा स्मरण गर्दै पार्टी संगठन, प्रजातन्त्र र समाजवादी विचारप्रति उनले पुर्याएको योगदानलाई सदैव सम्झिने जनाएको छ।