काठमाडौं— प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो विरोध कायमै राख्दै बैठक अवरुद्ध गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै दुवै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए। उनीहरूले नाराबाजी गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरे।

भिजिट भिसा प्रकरणमा व्यापक अनियमितता भएको भन्दै रास्वपा र राप्रपाले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन्। साथै, उनीहरूले उक्त प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेका छन्।

यो मागसहित दुवै दलले प्रतिनिधिसभा बैठकमा जेठ १३ गतेदेखि लगातार अवरोध गरिरहेका छन्। उनीहरूको अवरोधका कारण संसद्को नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।

सत्तापक्षले भने अवरोध अन्त्य गरी संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राख्दै आएको छ। तर विपक्षी दलहरूले छानबिन प्रक्रिया थालनी नगरी बैठक चल्न नदिने अडान लिएका छन्।