काठमाडौं— कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम फेरि विवादमा तानिएका छन्। मन्त्री हाङगाममाले मन्त्रीपदको दुरुपयोग गरी नेकपा (एकीकृत समाजवादी) का नेता रक्की थेबेमाथि सार्वजनिक स्थानमै मुक्का प्रहार गरेपछि अहिले उनको चौतर्फी आलोचना भएको छ । मन्त्रीकै हातबाट पटक–पटक यस्ता विवादित गतिविधिहरू दोहोरिरहँदा प्रदेश सरकार र नेताहरूको आचरण कस्तो हुनुपर्छ भन्ने सवाल फेरि उठेको छ।

नेता थेबेका अनुसार, मन्त्री हाङगाम मादक पदार्थ सेवन गरेर आएका थिए। व्यक्तिगत गुनासोको शैलीमा सुरु भएको कुराकानी, ‘८४ सालमा तिमीले मेरो विरुद्ध उम्मेदवारी दिएको रे?’ भन्ने जस्ता कुराले तातेर हात हालाहालसम्म पुगेको हो। प्रत्यक्षदर्शीहरूले पनि धकेलाधकेल र किचलो भएको पुष्टि गरेका छन्।

यो घटना कुनै सानो विवाद मात्र होइन, जिम्मेवार पदमा बसेका मन्त्रीको चरित्र र नैतिकता उजागर गर्ने उदाहरण हो। यो नै पहिलो पटक होइन—हाङगाम यसअघि पनि विवादास्पद छन्। २०८० भदौमा डीएसपीलाई ज्यान मार्ने धम्की, प्रहरीको हतियार खोस्ने, मेलामा अभद्र व्यवहार जस्ता क्रियाकलापले उनीप्रति गम्भीर प्रश्न चिन्ह उठाइसकेको थियो।

यो पटकको घटना झन् संवेदनशील छ। एकीकृत समाजवादी पार्टीकै नेतामाथि प्रदेश मन्त्रीबाट आक्रमण हुनु भनेको केवल आन्तरिक कलह होइन, लोकतान्त्रिक प्रक्रियामाथि नै प्रहार हो। अझ पीडित नेताले उजुरी नै गर्न नसक्ने वातावरण भएको, मिल्न दबाब आइरहेको बताउनु—प्रशासनिक स्वतन्त्रता र कानुनी प्रक्रियाको अवमूल्यन हो।

अराजकता बोकेका व्यक्ति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी छन्रु प्रदेश सरकार मौन बस्नु, पार्टीले कारबाही प्रक्रिया सुरु नगर्नु र कानुनी निकायको निष्क्रियता—यी सबैले मिलेर गलत संस्कृतिलाई मौन समर्थन गरिरहेको देखिन्छ।

हाङगामको शैली प्रतिनिधिको होइन, शक्ति प्रदर्शनको हो। यदि यस्तो व्यवहारमा प्रतिवाद नभए, प्रदेश राजनीति गुन्डागर्दी र दम्भको अखाडा बन्न सक्छ। समयमै कारबाही र स्पष्ट सन्देश नदिइए, जनता राजनीतिप्रति अझै वितृष्णा बोकेर बस्न बाध्य हुनेछन्।