काठमाडौं – कांग्रेस सांसद श्याम घिमिरे फेरि आपत्तिजनक अभिव्यक्तिका कारण विवादमा तानिएका छन्। यसअघि यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्ताव राखेर आलोचना खेपेका घिमिरेले पछिल्लो पटक भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग नजोड्नुपर्ने अभिव्यक्ति दिएका छन्।
सांसद घिमिरेले संसद् भवनमा सञ्चारकर्मीहरूसँग बोल्दै भने, “पैसा लिएर पठाइयो भने त्यो मानव बेचबिखन हुँदैन।” उनले नेपालीहरू आफैँ विदेश जान इच्छुक रहेको दाबी गर्दै भिजिट भिसाको दुरुपयोगलाई सामान्यकरण गर्न खोजेका छन्।
भिजिट भिसाका नाममा संगठित मानव तस्करी भइरहेको तथ्य सार्वजनिक भइरहँदा कांग्रेस प्रमुख सचेतकसमेत रहेका घिमिरेको यस्तो भनाइले थप आलोचना निम्त्याएको छ। यसअघि रवि लामिछानेलाई नैतिकताको पाठ पढाउने कांग्रेस सांसदहरू अहिले आफ्नै गृहमन्त्रीको बचाउमा लागिपरेको टिप्पणी भइरहेको छ।
सञ्चारकर्मीले थप प्रतिक्रिया माग्दा घिमिरे कड्किएर “म केही बोल्दिन” भन्दै टारेर हिँडेका थिए।






































