काभ्रे— काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले बगाएको पुलका फलामे पाटपुर्जा बिक्रीमा संलग्न भएको आरोपमा रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतम पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
उनीसँगै पक्राउ परेका कबाडी व्यवसायी मन्टुकुमारलाई पनि थुनामा पठाइएको छ भने चालकहरू तारेखमा रिहा भएका छन् । कबाडी कर्मचारी जितेन्द्र पासवानलाई धरौटीमा छाडिएको छ ।
नमोबुद्ध–६ का वडाध्यक्ष केसीको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न अनुमति दिइएको छ, तर उनी फरार छन् । पुलका पाटपुर्जा कार्यपालिकाको निर्णयबिना बिक्री गर्न खोजिएको भन्दै स्थानीयको उजुरीमा घटना सार्वजनिक बनेको हो ।