पोखरा— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस स्वतन्त्रलाई नियमन गर्न आवश्यक रहेको बताएका छन् । 

मंगलबार पोखरामा आयोजित प्रमाणमा आधारित पत्रकारिताको लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार कुनै पनि मिडियाको र प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न नचाहने भन्दै, तर नियमनको जरुरी रहेको बताएका हुन् । 

उनले भने,‘सूचनाको हक पाउने अधिकार सबैलाई छ । संविधानले दिएकै कुरा छ । तर त्यो सूचनाको हक लिइसकेपछि प्रमाणमा आधारमा पत्रकारिता भएर प्रसारण भएको छ कि छैन यसमा पनि हामीले छलफल गर्नुपर्छ । सरकार कुनै पनि मिडियाको अथवा प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न चाहँदैन, तर नियमनको जरुरी छ । अहिलेको नेपालको पत्रकारिता जगतमा अत्यन्तै आवश्यक कुरा भनेको नियमन हो । स्वतन्त्रता छाडातन्त्र पनि होइन । स्वतन्त्रताको आफ्नै परिभाषा छ नि ।’ 

त्यस्तै उनले सामाजिक सञ्जालमा लेखेको भरमा सत्य तथ्य नबुझी मिडियाहरूले त्यसैलाई आधार मानेर समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।