काठमाडौं -  आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच बनेको वर्तमान सत्ता गठबन्धनलाई ‘अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रिक’ भन्दै तत्काल कोर्स करेक्सन गर्नुपर्ने बताएका छन्।


बिहीबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार जनताका लागि ‘बोझ’ भएको टिप्पणी गरे। उनले भने, "केपी ओलीजस्तो नाटककारलाई कांग्रेसले बोकिरहँदा देशले दुःख पायो। शेरबहादुर देउवाले तुरुन्त कोर्स करेक्सन गर्नुपर्छ। स्वाभाविक गठबन्धनमै देशको हित हुन्छ।"


ओलीमाथि थप आरोप लगाउँदै साहले भने, "उनी अझै पनि विरोधीलाई तर्साउने रणनीतिमा छन्। उनको योजना सकेसम्म साना शक्तिहरूलाई समाप्त पार्ने हो।"


साहले वीरगन्जबाट संघीय सरकारमा तीनजना प्रतिनिधित्वमा रहेका नेताहरू भए पनि बजेटमा वीरगन्ज उपेक्षित बनेको आरोप लगाए। उनले नारायणी अस्पताललाई मेडिकल कलेज, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रंगशालालाई स्तरीय अन्तर्राष्ट्रिय रंगशाला र वीरगन्जलाई आर्थिक राजधानीको रूपमा विकास गर्ने अपेक्षा विपरीत बजेटमा कुनै उल्लेखनीय कार्यक्रम नआएको बताए।


प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणमाथि टिप्पणी गर्दै साहले त्यसलाई "फजुल खर्च" भन्दै आलोचना गरे। "युद्धग्रस्त मुलुकहरूबाट नेपाली नागरिक उद्धार गर्न नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरू विदेश भ्रमणमा लावालस्करसहित जानु निरर्थक हो," उनले भने।