काठमाडौं -  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ सत्रमा सहभागी हुन इटालीको रोम प्रस्थान गरेकी छन्। सम्मेलन आगामी जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुँदैछ।


मन्त्री राणा एफएओ सम्मेलनका प्रमुख सत्रहरू र अन्य उच्चस्तरीय कार्यक्रमहरूमा नेपाल सरकारको तर्फबाट सम्बोधन गर्नेछिन्। उनका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार, सम्मेलनमा उनले खाद्य सुरक्षासम्बन्धी नेपालका धारणासहित विभिन्न अन्तर्राष्ट्रिय पहलहरूमा नेपालको सहभागिताबारे प्रकाश पार्नेछिन्।


मन्त्री राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, साथै परराष्ट्र, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू समावेश छन्।


एफएओ सम्मेलनपछि मन्त्री राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित लगानी प्रवर्द्धन कार्यक्रमहरूमा पनि सहभागी हुने कार्यक्रम छ।


परराष्ट्रमन्त्री राणालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले विदाइ गरेका थिए।