काठमाडौं  -  गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल प्रहरीको जवान, हवल्दारलाई आधारभुत तह भनि कानूनमा उल्लेख गर्नुपर्ने बताएका छन् । 

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनमा तल्लो तहको कर्मचारी भन्ने शब्दहरु प्रयोग गर्ने गरेको भन्दै यसलाई आधारभुत तह भनिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘प्रहरी खास गरेर कार्यालय सहयोगी, प्रहरी जवान, हवल्दारलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नया शब्द प्रारम्भ गरेको छु । प्रहरीको ती कर्मचारीहरुलाई आधारभुत तह भनिनुपर्छ भनेर भनेको छु किनभने प्रहरीको प्यारामिड उहाँहरुमै माथि उभिएको छ ।’

उनले सबैभन्दा ठुलो संख्यामा प्रहरी जवान, हवल्दारलगायतका कर्मचारी सडकमा १६ घण्टा उभिएर काम गर्ने भन्दै यसलाई कानूनमा लेख्दा आधारभुत तह लेख्न प्रस्ताव समेत गरे ।  

बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरुसँग छलफल गरिएको छ ।