काठमाडौँ — नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास गम्भीर रूपमा कमजोर हुँदै गएको बताएका छन्।
सोमबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै बर्तौलाले न्यायिक प्रणालीप्रति जनविश्वास लगभग टुट्नै लाग्ने अवस्थामा पुगेको टिप्पणी गरे। उनले भने, "पछिल्लो चरणमा नागरिकको न्यायालयप्रतिको विश्वास कमजोर मात्रै होइन, करिब टुट्नै लागेको अवस्था छ। यसको जिम्मेवार विभिन्न कारणहरू छन्, तर न्यायाधीशहरूको भूमिकामाथि गम्भीर प्रश्न उठिरहेको छ।"
बर्तौलाले न्यायाधीशहरूको आचरण, फैसला प्रक्रियाको पारदर्शिताको अभाव र न्याय सम्पादनमा देखिएको विचलनले न्यायालयमाथि प्रश्न उठेको दाबी गरे।
सुनुवाइ समितिमा सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश शान्तिसिंह थापासँग प्रश्न गर्दै बर्तौलाले भने, "भोलि यस्तो किसिमका टिप्पणीहरू दोहोरिन नदिने सुनिश्चितता तपाईं कसरी गर्नुहुन्छ? पीडितले न्याय पाउने ग्यारेन्टी तपाईं कसरी दिनुहुन्छ?"
उनले कतिपय अवस्थामा न्यायाधीशहरूले उपलब्ध प्रमाणभन्दा पनि भीडको दबाब र आफू जोगाउने मानसिकताका आधारमा फैसला गर्ने प्रवृत्ति देखिएको आरोप लगाए। "वास्तवमा न्याय दिने कि भीडबाट जोगिने? यस्तै प्रवृत्तिका कारण न्यायालयप्रतिको विश्वास खस्किएको हो," बर्तौलाले स्पष्ट पारे।