काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी अर्याल) विरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ । 

आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएका युवराज सफलले पूर्वमन्त्री समेत रहेका अर्यालमाथि छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन् । 

सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रालिको सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी दर्ता गरेका हुन् । 

कार्यवाहक सभापति अर्यालले सदनमा जवाफ दिँदै बोलेका तथ्यलाई आधार बनाएर सफलले उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन् । 

उनले दर्ता गराएको निवेदनमार्फत भनेका छन्, ‘भिजिट भिसाको नाममा ‘सेटिङ’ गरेर त्रिभुवन विमानस्थल हुँदै नागरिक विदेश पठाइएको प्रमाणहरू सार्वजनिक भइसकेका छन् । यस्तोमा अर्यालको कम्पनीले कागजात पूरा गरेर नागरिक पठाएको स्विकार्न सकिन्न ।’ 

उक्त उजुरीमा सांसद अर्यालसहित कम्पनीका अन्य सञ्चालकलाई कानुनी दायरामा ल्याई दोषी ठहरिए हदसम्मको कारबाही गर्न माग गरिएको छ । प्रधानमन्त्री कार्यालयले भने हालसम्म यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।