काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक गम्भीर रूपमा भ्रष्टाचारमा फसेको भन्दै राजसंस्था पुनःस्थापनाको आवश्यकता औंल्याएका छन्।
बुधवार राजधानीमा पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार भयावह रूपमा बढेको आरोप लगाए। उनले भने, "मुलुक अहिले अभिभावकविहीन अवस्थामा छ, जसका कारण विदेशी हस्तक्षेप र चलखेल तीव्र बनेका छन्।"
थापाले धर्मनिरपेक्षताको नाममा व्यापक धर्म परिवर्तन भइरहेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। “राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न राजसंस्था आजको आवश्यकता हो,” उनले जोड दिए।
उनले देशमा कसैको डर नमानेको अवस्था सिर्जना भएकाले राष्ट्रघाती गतिविधि समेत बढेको बताए।
कार्यक्रममा पार्टीका नेताहरू डा. विष्णु भण्डारी, केशव राज श्रेष्ठ, अञ्जना शाह रावल र जिवछ मिश्रले पनि आ–आफ्ना धारणा राखेका थिए।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        