मकवानपुर – मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसरभित्र पत्रकारलाई अनुमति बिना फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाएकी छन्। कार्यालयको प्रवेशद्वार र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही’ भन्ने सूचनासहितको पोष्टर टाँसिएको छ।
बुधवार नेपाल पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रजिअ श्रेष्ठले प्रशासन कार्यालयको सुरक्षासंवेदनशीलता र गोपनीयता कायम राख्नका लागि यस्तो निर्णय लिइएको दाबी गरिन्।
“प्रशासन कार्यालय संसदजस्तो होइन। यहाँ विभिन्न प्रकृतिका मानिसहरू आउँछन्। उनीहरूको गोपनीयता र सुरक्षालाई ख्याल गरेर मात्र यो कदम चालिएको हो,” प्रजिअ श्रेष्ठले भनिन्, “अबदेखि अनुमति लिएर मात्र फोटो वा भिडियो खिच्न पाइनेछ।”
गत असार ६ गते समाचार संकलनका क्रममा पत्रकारलाई भिडियो खिच्न नदिएको घटनालाई लिएर नेपाल पत्रकार महासंघ मकवानपुर र केन्द्रले प्रेस स्वतन्त्रता उल्लङ्घन भएको भन्दै विरोध जनाएको थियो। त्यसपछि असार १२ गते बसेको महासंघ मकवानपुरको बैठकले उक्त कदमप्रति आपत्ति जनाउँदै प्रजिअको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।
यही निर्णयअनुसार महासंघका अध्यक्ष बालकृष्ण अधिकारीसहितको टोली बुधवार जिल्ला प्रशासन कार्यालय पुगेको थियो। छलफलका क्रममा प्रजिअ श्रेष्ठले कार्यकक्षभित्र भने अझै पनि भिडियो खिच्न अनुमति नदिने अडान पुनः दोहोर्याइन्।
महासंघका महासचिव रामप्रसाद दाहालले प्रजिअ श्रेष्ठको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै कानुनले तोकेबाहेकका क्षेत्रहरूमा सूचना संकलनमा रोक लगाउने अधिकार व्यक्तिगत निर्णयबाट नहुने बताए। “प्रधानमन्त्री कार्यालयमा समेत यस्तो प्रतिबन्ध छैन,” उनले भने, “पत्रकारको पेशागत कर्तव्यमा बाधा पुर्याउने निर्णय अनुचित हो।”
छलफलपछि प्रजिअ श्रेष्ठले प्रशासन कार्यालयको प्रवेशद्वारमा टाँसिएको सूचना हटाउने प्रतिबद्धता जनाए पनि कार्यकक्षभित्र भने भिडियो खिच्न अनुमति नदिने अडान यथावत् राखेकी छन्।
पत्रकार महासंघ मकवानपुरले यस्ता गतिविधि दोहोरिन नदिन चेतावनी दिँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        