काठमाडौं— एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री पुनः एमाले फर्किने तयारीमा रहेको चर्चा चुलिएको छ। एमाले विभाजनको बेला माधवकुमार नेपालको पक्षमा ठोस साथ दिएकी झाँक्री हाल पार्टी नेतृत्वप्रति खुलेर असन्तुष्टि जनाउँदै आइरहेकी छन्।
लुम्बिनीमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा अध्यक्ष नेपाललाई हटाउनुपर्ने अभिव्यक्ति दिएपछि उनी पार्टीभित्र विवादको केन्द्रमा छिन्। ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’ भन्दै पार्टीको नेतृत्व परिवर्तनको आह्वान गरेपछि उनीमाथि तीन दिनभित्र स्पष्टीकरण मागिएको थियो। यद्यपि, उनले आफूलाई औपचारिक रूपमा स्पष्टीकरण नसोधिएको दाबी गरेकी छन्।
यसबीच, पतञ्जलि योगपीठको जग्गा प्रकरणमा विशेष अदालतले भ्रष्टाचार मुद्दा दायर गरेसँगै अध्यक्ष नेपाल थप दबाबमा परेका छन्। मुद्दाका कारण नेपालको सांसद पद निलम्बनमा छ, तर उनले अध्यक्षता भने छाडेका छैनन्। वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे कार्यवाहका रूपमा सक्रिय भए पनि नेतृत्व नछाडेकै कारण पार्टीभित्र असन्तुष्टि बढेको देखिन्छ।
झाँक्री एमाले फर्किने सम्भावनाको चर्चा चलिरहँदा उनले पार्टी एकता आवश्यक रहेको संकेत गरेकी छन्। झलनाथ खनालजस्ता नेताहरु पनि पार्टी एकताको पक्षमा उभिएका छन्। तर, अध्यक्ष नेपाल नेतृत्व कायम राख्ने हो भने पार्टी थप संकटमा जान सक्ने आकलन गरिएको छ।।






































