काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधिसभाबाट अघि बढाउन लागेको भूमि सम्बन्धी विधेयकप्रति खुला असहमति जनाएका छन्। उनले विधेयक पर्याप्त गृहकार्य विना संसदमा पेश गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन्।
शर्माले भनेका छन्,
"भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक आफैंमा फेरि संशोधन गरेर सहमति खोज्न जरुरी छ। पर्याप्त तयारी नगरी संसदमा सोझै पारित गर्न प्रस्तुत गरिएकोमा स्पष्ट असहमति जनाइन्छ।"
उनले विधेयकप्रति सहमति जुटाउन सरकारलाई आग्रह गर्दै "लटरपटर नगरी" ठोस पहल गर्नुपर्ने बताएका छन्। साथसाथै उनले आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट समेत सो विधेयक हटाउन माग गरेका छन्।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले "भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२" माथि दफावार छलफल अगाडि बढाउने सम्भावित कार्यसूची तय गरिएको छ।
साथै, विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै पारित गर्ने तयारी समेत कार्यसूचीमा समावेश गरिएको छ।