विर्तामोड— नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्रकुमार यादवले वर्तमान संविधानलाई सर्वोत्कृष्ट भन्दै यसको विशेषताबारे चर्चा गरेका छन। कांग्रेस झापाद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संसदमा सबै जात, वर्ग, लिङ्ग र क्षेत्रको समावेशी प्रतिनिधित्व देखिएको संविधानलाई ‘फूलबारी’को संज्ञा दिए।
“समतामूलक सहभागिता, मिश्रित प्रणाली र सबैको प्रतिनिधित्व संविधानको प्रमुख विशेषता हो,” नेता यादवले भने, “संविधानकै कारण बहुमत आउन सकेन भन्नु गलत हो। पार्टीभित्रको अन्तरघात, जनमुखी कार्यक्रमको अभाव र नेताहरुबीचको इष्र्या–इगो नै हारको मुख्य कारण हो।”
निर्वाचन प्रणालीमा कुनै समस्या नरहेको जिकिर गर्दै उनले जनमत जित्ने गरी काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे। लोकतान्त्रिक व्यवस्थाको स्थायित्वका लागि कांग्रेस–एमाले सहकार्य आवश्यक भएको उल्लेख गर्दै यादवले गुट उपगुट त्यागेर पार्टीलाई मजबुत बनाउन सबै तहका नेता तथा कार्यकर्तालाई आह्वान गरे।
शान्ति प्रक्रिया र संविधान निर्माणमा गिरिजाप्रसाद कोइराला र कृष्ण सिटौलाको भूमिका उल्लेखनीय रहेको बताउँदै यादवले भन्नुभयो, “गिरिजाबाबुको दूरदृष्टि र सिटौलाको क्षमताकै कारण शान्ति सम्झौता र संविधान सम्भव भयो।”
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले प्रमुख प्रतिस्पर्धी एमाले रहेको उल्लेख गर्दै हालको सत्ता साझेदारी ‘तरबारको धारमा टेकेको’ भन्दै चिन्ता व्यक्त गरे। सामाजिक सञ्जाल नियमन आवश्यक भएको बताउँदै उनले पार्टीको क्रियाशील सदस्यता नवीकरणमा केन्द्रीय नेताहरूको सक्रियता आवश्यक रहेको धारणा राखे।
काठमाडौं केन्द्रित राजनीति परित्याग गरी गाउँ र वडा स्तरमा केन्द्रित हुने समय आएको सुझाव पनि उनले दिए।
कार्यक्रम नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव कृष्ण हुमागाईंले गरेका थिए। कार्यक्रमबारे प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिए।