रुपन्देही— निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । निर्वाचन कार्यक्रमअनुसार असोज २१ गते उम्मेदवारी दर्ता हुने छ ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । यस्तै, सोही दिन उम्मेदवारको सूची प्रकाशन हुनेछ भने असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
यसैगरी असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी सोही दिन ७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । यस्तै, असोज २४ गते दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।