काठमाडौं— नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा संलग्न हुन रोक लगाउने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न दुईदिने केन्द्रीय कमिटी बैठकले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिक रूपमा सक्रिय हुनु उपयुक्त नहुने निष्कर्ष निकालेको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव राखेका थिए, जसलाई तीन नेताको असहमतिसहित बहुमतले पारित गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते मदन जयन्तीको अवसरमा एमालेको सदस्यता नवीकरण गर्दै पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। तर, एक महिनामै एमालेले उनीमाथि सक्रिय राजनीतिक गतिविधिमा सहभागी नहुने निर्णय गरेसँगै उनको सम्भावित भूमिकामा रोक लगाइएको छ।
प्रवक्ता गौतमले भने, “पूर्वराष्ट्रपति राष्ट्राध्यक्षका रूपमा राष्ट्रिय एकताको प्रतीक र देशको अभिभावक हुन्। यस्ता व्यक्तिले राजनीतिक दलमा सक्रिय हुनु संविधान र स्थापित मान्यताविपरीत हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ।”
बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पूर्वपदको सम्मानपूर्वक व्यवहार गर्ने निर्णय पनि गरेको छ।