काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टीभित्र देखिएको अस्थिरताको माहोलप्रति टिप्पणी गर्दै, ‘साना हावाका झोक्काहरू’ले एमालेजस्तो संघर्षशील पार्टीलाई असर नपार्ने स्पष्ट गरेका छन्। उनले पार्टी एकता र निर्माणमा केन्द्रित हुन नेताहरूलाई आग्रह गरेका छन्।
शनिबार साँझ बालुवाटारमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूसँगको भेटमा ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा कर्णालीले एकताको सन्देश दिएको भन्दै धन्यवाद प्रकट गरे।
"हामी ठूलो संघर्ष र आँधीबेहरीको सामना गर्दै यहाँसम्म आएका हौं। अहिले देखिएको अस्थिरता सानो हावाको झोक्का मात्रै हो, जुन सामान्य रूपमा समाधान हुन्छ," उनले भने, "यसमा अल्मलिनुको साटो, आफ्नो क्षेत्र र भूगोलमा पार्टी सुदृढीकरणमा लाग्नुस्।"
ओलीले पार्टीभित्र चलाइएको अस्थिरताको माहोललाई बाह्य शक्तिहरूको षड्यन्त्रको परिणाम भनेका छन्। उनका अनुसार एमाले नेतृत्वको सरकारद्वारा अपनाइएको नीति र लोकप्रिय कामप्रति अत्तालिएर केही शक्ति सक्रिय भएका छन्।
बालुवाटार भेटमा सहभागी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीका अनुसार, ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले पछिल्लो समय लिएको निर्णयप्रति असन्तोष व्यक्त गरेका थिए। "पूर्वराष्ट्रपतिले पार्टी सदस्यताको विवाद उठाउनु र नेतृत्वतर्फ आकांक्षा देखाउनु स्वयं उहाँकै कद घटाउने कार्य हो," ओलीको भनाइ उद्धृत गर्दै बोगटीले बताए।
ओलीका अनुसार, पूर्वराष्ट्रपतिजस्ता राष्ट्रका अभिभावक पात्रले पार्टी सदस्यता नवीकरणसँगै अध्यक्ष बन्ने आकांक्षा देखाएकै कारण केन्द्रीय कमिटीबाट विशेष निर्णय गर्नुपर्ने स्थिति आएको हो।
ओलीले आफूले पार्टीको नेतृत्व सम्हालेयता पार्टीलाई जनताको पक्षमा उभ्याउने र राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने अभियानमा लागेको उल्लेख गर्दै, त्यसकै कारण हाल पार्टी र नेतृत्व चौतर्फी घेराबन्दीमा परेको बताएका छन्।
नेताहरूका अनुसार, अब एमालेको मुख्य लक्ष्य २०८४ को निर्वाचनमा प्रमुख शक्ति बन्ने रणनीतिमा केन्द्रित हुनुपर्नेमा ओलीले जोड दिएका छन्।