काठमाडौं — नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोग लगाउनुपर्ने माग गरेकी छन्।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले दिएको पूर्णपाठ निर्णयले राईको भूमिकामाथि प्रश्न उठाएको उल्लेख गर्दै महाभियोग प्रक्रिया सुरु गर्नुपर्ने बताइन्।
पन्तले भनिन्, "वाइडबडी जहाज खरिदबारे अदालतको फैसलामा चयनमुखी अभियोजन गरिएको देखिन्छ। अन्य व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरिए पनि राईप्रति किन नगरेको? विशेष अदालतले प्रश्न उठाएको छ। उहाँ अहिले अख्तियार प्रमुख हुनुहुन्छ। यस्तो अवस्थामा उहाँले आफै राजीनामा दिनु पर्छ, वा सरकारले बोल्नुपर्छ। न सरकार बोल्छ, न संसद। यस्तोमा महाभियोग लगाउनुपर्छ। संविधानको धारा १०१ मा यसको व्यवस्था छ।"
उनले राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास कमजोर बन्दै गएको र राजनीतिक दलहरूबीच आपसी अविश्वास बढेको पनि औंल्याइन्। सेवा प्रदायक र सेवाग्राहीबीचको भरोसा कमजोर भएको भन्दै सरकार गम्भीर बन्नुपर्ने उनको धारणा थियो।
सांसद पन्तले घुस प्रकरणमा संलग्न भनिएका मन्त्रीहरू खुल्लमखुल्ला हिँडिरहेको भन्दै पनि सरकारप्रति प्रश्न उठाइन्— "सरकार बोल्ने कि नबोल्ने?"
सांसद पन्तको धारणा वाइडबडी प्रकरणमा अदालतको निर्णय सार्वजनिक भएपछि आएको हो, जसमा तत्कालीन पर्यटन सचिव र अहिलेका अख्तियार प्रमुख प्रेमकुमार राईको भूमिकामाथि नै प्रश्न उठाइएको छ।