काठमाडौं — स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन्।
सिंहले विगत ३० वर्षदेखि देशमा सहकारी रकम हिनामिना गर्ने मुख्य दोषी नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको दाबी गर्दै, तीन वर्षअघि मात्रै राजनीतिमा आएका लामिछानेलाई फसाउन खोजिएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै सञ्चालन गरेको हस्ताक्षर अभियानमा समर्थन जनाउन पार्टी कार्यालय पुगेका सिंहले सञ्चारकर्मीहरूसँग भने, "राज्यले प्रतिशोध गरिरहेको छ, यो पूर्णरूपमा राजनीतिक प्रतिशोध हो।"
उनले लामिछानेमाथि प्रतिशोध हुनुको मुख्य कारण गत निर्वाचनमा कांग्रेस र एमालेको मत घट्नु भएको बताएका छन्। सिंहले भने, "गत चुनावमा कांग्रेस र एमाले दुवैको पाँच लाख मत घट्यो। सहकारी हिनामिनाको प्रमाण छैन तर मत हिनामिनाको प्रमाण निर्वाचन आयोगमा छ।"
सांसद सिंहले सहकारी ठगीको वास्तविक जड पुराना दलहरू रहेको आरोप लगाउँदै भने, "सहकारीको पैसा हिनामिना सुरुबाटै कांग्रेस र एमालेले गरेका हुन्। रवि लामिछानेको राजनीतिक यात्रा तीन वर्ष पनि नपुर्याएको छ। जसले ३० वर्ष शासन गरेर नेपाललाई गरिब बनायो, उनीहरूमाथि किन छानबिन हुँदैन?"
न्याय प्रणालीमाथि प्रश्न उठाउँदै सिंहले भने, "एमाले नेता ऋषिकेश पोखरेलकी श्रीमतीलाई एक घण्टामै अदालतले छाडिदिन्छ, स्वर्णलक्ष्मीको सञ्चालकलाई पनि छाडिन्छ। तर रविलाई तारिख तोकिन्छ। यस्तो न्याय कस्तो हो?"
सिंहले भुटानी शरणार्थी, वाइडबडी र पासपोर्ट घोटालामा कांग्रेस र एमालेको संलग्नता रहेको तर ती मुद्दाहरू दबाइएको आरोप पनि लगाए।
उनले भने, "भुटानी शरणार्थी काण्ड र वाइडबडी प्रकरण कहाँ पुगे? जहाँ कांग्रेस-एमालेले भ्रष्टाचार गरेका छन्, त्यहाँ केही हुँदैन। पुलिस, प्रशासन र अदालत सबै सेटिङमा छन्, यसले न्याय पाउन सकिँदैन।"
सिंहले देशभरिका सबै भ्रष्टाचार र अनियमिततामा पुराना दलहरूको ‘सेटिङ’ रहेको दाबी गर्दै रवि लामिछानेलाई कमजोर पार्न षड्यन्त्र भइरहेको बताए।