भदौ २० गतेबाट फिल्म ‘रिमै’ रिलिजमा आउँदैछ । यो फिल्मको टिम यतिबेला प्रचारमा व्यस्त छ । फिल्मका मुख्य नायक दयाहाङ राईले ‘रिमै’ नेपाली फिल्म क्षेत्रका लागि एउटा दस्तावेज हुने बताएका छन् । 


उनले, गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि यो फिल्म बलियो दस्तावेज बन्ने पनि बताएका छन् । उनी भन्छन्–‘अहिले यो फिल्म बन्यो । प्रदर्शनमा आउँदैछ । धेरैका लागि यो सामान्य प्रक्रिया मात्र हो । तर, यो फिल्म भोलिका लागि बलियो दस्तावेज हुनेछ । भोलिको पुस्ताले गुरुङ समुदायको अध्ययन गर्नुपर्यो भने यो एउटा बलियो दस्तावेज हुनेमा दुईमत छैन ।’


गोरखाको माथिल्लो बेल्टमा बस्ने गुरुङ समुदायबारे वुझ्नका लागि यो फिल्म गतिलो दस्तावेज हुने दयाको भनाई छ । यो फिल्मले छोरी–चेली भन्ने बुझाउँछ । तर, यसलाई अलि रुखो तरिकाले बुझ्दा तरुनी भन्ने पनि हुन्छ । गुरुङ समुदायमा कसैले केटीलाई जिस्कायर ‘रिमै’ भन्यो भने त्यो छोरी वा चेली नभएर तरुनी भन्ने हुन्छ । यो फिल्ममा रिश्मा गुरुङले केन्द्रीय भूमिकामा काम गरेकी छिन् । उनले, आफ्नो समुदायमा छोरी सबैभन्दा बढी केन्द्रमा हुने तर्क गरिन् ।


उनले भनिन्–‘अरु समुदायमा बाबु वा आमाको मृत्यु हुँदा अन्तिम संस्कार गर्न छोरा चाहिन्छ, छोरी नभए पनि हुन्छ भन्ने छ । तर, गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ । छोरी नभएसम्म घरबाट लास उठाउनै मिल्दैन ।’


खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको यो फिल्ममा उपेन्द्र सुब्बाको पटकथा छ भने शैलेन्द्रध्वज कार्कीले यो फिल्म खिचेका हुन् । भदौको २० गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।