गत भदौको १२ गतेबाट हलमा लागिरहेको चलचित्र ‘कोशेढुंगा’को अनुगमन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको श्रव्य दृश्य शाखाले चलचित्र विकास बोर्डलाई पत्र काटेको छ । सेन्सर बोर्डले दिएको निर्देशन पालना नगरेको भन्दै श्रव्य दृश्य शाखाले विकास बोर्डलाई पत्र काटेको हो।
यो फिल्मको विभिन्न स्थानमा बोलिएका समाजमा अश्लील लाग्ने संवाद तथा शब्दहरु हटाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने गरि प्रदर्शनको अनुमति सेन्सर बोर्डले दिएको थियो । तर, यसको टिमले सेन्सरले हटाउनु वा म्यूट गर्नु भनेका दृश्य नहटाइ प्रदर्शनमा ल्याएको भन्दै श्रव्य दृश्य शाखाले विकास बोर्डलाई पत्र काटेको हो ।
सरोज पौडेलको निर्देशनमा तयार भएको यो फिल्ममा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्र विकास बोर्डले पनि पत्र प्राप्त भएको भन्दै अनुगमन गर्ने बताएको छ । फिल्मले बक्स अफिसमा वर्ड अफ माउथ बलियो बन्दै जाँदा व्यापार पनि बढाउँदै लगेको छ ।





































