सरकारले यसपटक ११ जना भन्दा बढी व्यक्तिलाई मन्त्री नबनाउने बताइसकेको छ । अन्तरिम सरकारमा कुनै पनि दलसँग नजोडिएका व्यक्तिहरूलाई मन्त्री बनाइएको छ । तर, अझै केही मन्त्रीहरूलाई नियुक्ति गर्न बाँकी नै छ । यस्तो अवस्थामा, अबको परराष्ट्र मन्त्री को बन्ला भन्ने चासो पनि छ ।
सामाजिक संजालमा विगत केही दिनदेखि नेपाली फिल्म क्षेत्रका सर्वाधिक सफल नायक राजेश हमालको नाम ‘परराष्ट्र मन्त्री’को रुपमा चर्चामा छ । उनले यो शक्तिशाली मन्त्रालय सम्हाल्न लागेको भन्दै चर्चा गरिएको छ । जेनजी पुस्ता पनि हमाललाई परराष्ट्र मन्त्रीको रुपमा हेर्न चाहेको अभिव्यक्ति दिइरहेका छन् ।
तर, नायक हमाल भने यतिबेला अष्ट्रेलियामा छ । एक शोको छायांकनका क्रममा उनी अष्ट्रेलिया पुगेका हुन् ।
हमाल पूर्व राजदूत चुडाबहादुर हमालका छोरा हुन् । उनको व्यक्तित्व र बोल्ने शैलीको पनि व्यापक चर्चा हुने गर्दछ । यसैले, पनि जनताले उनलाई परराष्ट्र मन्त्रालय सम्हालेको हेर्न चाहेका हुन् ।
तर, अष्ट्रेलियामा रहेका हमालले अहिले नै आफूलाई यता रुची नभएको बताएका छन् । हमालले लामो यात्रा पार गर्नुपर्ने भएको भन्दै अहिले नै मन्त्री बन्नतर्फ आफू नलागेको बताए । उनले, यो अन्तरिम सरकार भएका कारण पनि सरकारमा जाने इच्छा नराखेको वुझिएको छ ।