असोजको १३ गतेबाट फिल्म ‘माइतीघर’ रिलिजमा आउँदैछ । यो फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । फिल्मको टिजरमा कमेडी धेरै छ । कलाकार केदार प्रसाद घिमिरेको कमेडीको साथमा मुख्य दुई नायक धिरज मगर र प्रकाश सपुतविचको द्धन्द्धले पनि दर्शकलाई आकर्षित गरेको छ । नायिका उपासना सिंह ठकुरी र नव–नायिका श्यामाश्री शेर्पाको भूमिकाप्रति पनि दर्शकको चासो बढेको छ ।
रोहित अधिकारीको निर्माणमा तयार भएको यो फिल्ममा मिलन तामाङको निर्देशन छ । यो फिल्मले हसाउँदा हसाउँदै दर्शक रुवाउने कलाकारहरूले बताएका छन् । मिडिया कुराकानीका क्रममा मुख्य कलाकारहरू केदार प्रसाद घिमिरे, उपासना सिंह ठकुरी र धिरज मगरले फिल्मको क्लाइमेक्सको दृश्यको छायांकनमा नै उपस्थित दर्शक रोएको बताए ।
नायिका उपासना सिंह ठकुरीले भनिन्–‘हाम्रो फिल्म सुरुवातदेखि हँसाएर अन्तिममा रुवाउँछ । माइतीघर भन्ने बित्तिकै छोरीको बिदाइ भन्ने बुझिन्छ । क्याइमेक्समा पनि एउटा दृश्य निकै नै सुन्दर तरिकाले खिचिएको छ । आमा र छोरी बीचको कुराकानीले दर्शकलाई निकै भावुक बनाउँछ । फिल्मको छायांकनका क्रममा उपस्थित ५ सय भन्दा बढी दर्शक रुनुभएको थियो ।’
नायक धिरज मगरले पनि यो विषयमा भने–‘फिल्ममा केदार दाइको भूमिका त नरुने हो । तर, उहाँ क्यारेक्टरमा हुँदा हुँदा पनि रुनुभयो । सुटिङमा धेरै आमाहरू आउनु भएको थियो । उहाँहरूले आफूलाई सम्झिएर हो कि, छोरीलाई सम्झिएर हो कि लामो समय रुनुभयो । हाम्रो सुटिङ ३ घन्टा नै रोकिएको थियो । हामीले किन यो माइतीघर शीर्षक किन यति भारी छ भन्ने बल्ल वुझ्यौं । फिल्म हेर्न आउँदा पनि दर्शकले यो कुरा महशुश गर्नुहुन्छ भन्ने लागेको छ ।’
यो विषयमा कलाकार केदार प्रसाद घिमिरे भन्छन्–‘हामी जन्त जाँदा खाली भतेर खाने, ल जाम जाम भन्ने मात्र गर्थ्यौ । तर, बेहुली अन्माएर पठाउने बेलामा आमा र छोरीको सम्बन्ध कस्तो हुन्छ भन्ने हामीले याद गरेका रहेनछौँ । यो फिल्मको छायांकनका क्रममा हामीलाई गाह्रो भएको कुरा पनि यही नै हो । फिल्मको त्यो दृश्य ट्रेलरमा छैन । भोलि दर्शकले फिल्म हेर्दा मन भारी हुन्छ भन्ने लागेको छ ।’