असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मको बुधबार बेलुकी सेन्सर भएको हो ।
अब, यो फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । दशैंको फूलपातीको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
सेन्सर बोर्डमा फिल्म हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरूको विषयमा कुराकानी समेत भएको थियो । सेन्सरका अधिकांश कर्मचारीहरूले लामो समयपछि एउटा उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको बताएका थिए ।
फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरूले तारिफ गरेको निर्माणपक्षले बताएको छ । फिल्मका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् ।
यो फिल्मको बूकिङ समेत खुलिसकेको छ । यो फिल्मले देशभरका हलमा सय बढी शोज पाइसकेको छ । अझै पनि केही हलमा शोज खुल्न बाँकी नै छ ।
फिल्मलाई बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शोज दिएका छन् । जसकाकारण, दर्शक फिल्मप्रति आशावादी र प्रतीक्षामा रहेको बुझ्न सकिन्छ । फिल्मको ट्रेलर र शीर्ष गीतले दर्शकको ध्यान तानिसकेको छ ।
फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ ।
रामशरण पाठकले लेखेको यो फिल्मको कथावस्तुलाई दर्शकले मन पराउने र बलियो वर्ड अफ माउथ आउने अपेक्षा गरिएको छ ।