बाजुरा— जिल्ला प्रशासन कार्यालय बाजुराले नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावली जस्ता चाडबाडहरुमा सामाजिक ऐक्यबद्धता कायम गरि मनाउन आग्रह गरेको छ । 

प्रशासनले एक सूचना मार्फत सम्पूर्ण जिल्लाबासीहरुलाई शुभकामना व्यक्त गर्दै कुनै पनि सामाजिक खलल नपुग्ने गरि चाडबाड मनाउन आग्रह गरेको हो ।

चाडपर्व साँस्कृतिक परम्परा,आपसी सद्भाव र एकता झल्काउने मौलिक धरोहर भएकोले यिनलाई सभ्य र सौहार्दपुर्ण तरिकाले जिल्लाबासीहरुको मनाउन आवश्यक रहेको प्रशासन बाजुराले जनाएको छ । 

साथै व्यापारीहरुलाई दैनिक उपभोग्य अनावश्यक वस्तुमा कृतिम अभाव सिर्जना गर्ने,कालोबजारी,मूल्यबृद्धि,म्याद नाघेका वस्तु बिक्रीवितरण नगर्न आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले चाडपर्वलाई सभ्य र सु–संस्कृत तरिकाले मनाउन आग्रह गरेका छन् । चाडपर्वको बाहानामा धार्मिक,जातिय,वा सामाजिक सद्भावमा खलल पुन्ने कुनै पनि गतिविधि नगर्न,नगराउँन,उनले आग्रह गरेका हुन् ।

साथै चाडपर्व मनाउने बहानामा मादक पदार्थ सेवन,सार्वजनिक स्थलमा अनावश्यक हो–हल्ला,सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न तथा तोकिएको भन्दा बढि भाडा नलिन र ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन् ।

मनसुनका कारण बिग्रे भत्केका सडकमा यात्रा गर्दा सुरक्षा सतर्कता अपनाउने,भिडभाडजन्य गतिविधि समाजमा अशान्ती एवम् अशोभनीय क्रियाकलाप लगायतका कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । उल्लेखित सूचनाको बिपरीत कोही कसैले क्रियाकलाप गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रशासन बाजुराले जनाएको छ ।