भक्तपुर— चाडपर्व दशैं नजिकिँदै गर्दा राजधानी उपत्यका छोड्ने यात्रुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। विशेषगरी पूर्वतर्फ गइरहेका यात्रुहरूको अत्यधिक चापका कारण भक्तपुरको सूर्यविनायकस्थित अरनिको राजमार्गमा आज बिहानदेखि सवारी जामको समस्या देखिएको छ।

पूर्वका विभिन्न जिल्लातर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनहरूको संख्या एक्कासी बढेसँगै राजमार्गमा ट्राफिक अवरोध भएको हो। राजधानी छाडेर घर फर्किन लागेका नागरिकहरू बिहानैदेखि विभिन्न गन्तव्यका लागि बाटो लाग्दा सूर्यविनायक क्षेत्र आसपासको सडक जाम हुन पुगेको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका अनुसार यात्रुको चाप र सवारी साधनको सङ्ख्या बढेपछि राजमार्गमा गाडीहरू लामो समयसम्म जाममा परेका छन्। जाम न्यूनीकरण गर्न थप ट्राफिक प्रहरी खटाइएको छ भने ट्राफिक व्यवस्थापनलाई चुस्त पार्ने प्रयास भइरहेको छ।

दशैं नजिकिँदै गर्दा आगामी दिनहरूमा अझ बढी भीड बढ्न सक्ने अनुमान गरिएको छ। प्रहरीले यात्रुहरूलाई समयमै तयारी गर्न, सवारी साधनको टिकट अग्रिम बुकिङ गर्न र ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।