काभ्रे— नवरात्रिको अष्टमी तिथि पारेर आज काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण उग्रचण्डी भगवती मन्दिरमा भक्तजनहरूको विशेष भीडभाड देखिएको छ। बिहानैदेखि टिका, फूलमाला, धूपदीप र प्रसादसहित भक्तजनहरूको ओइरो लागेको हो।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन यहाँ विशेष पूजा, बलि, र भजनकीर्तन आयोजना गरिन्छ। यसवर्ष पनि स्थानीयवासीदेखि लिएर काठमाण्डौ, भक्तपुर, ललितपुर लगायतका विभिन्न स्थानहरूबाट दर्शनार्थीहरू मन्दिरमा उपस्थित भएका छन्।

मन्दिर क्षेत्रका प्रमुख पुरोहितका अनुसार, आजको दिन देवी उग्रचण्डीलाई विशेष शक्तिशाली रूपमा पूजा गरिन्छ। “अष्टमीका दिन देवी प्रसन्न हुने विश्वास रहेकोले भक्तजनहरू विशेष श्रद्धाका साथ पूजाआजा गर्छन्,” उनले बताए।

भीड व्यवस्थापनका लागि स्थानीय युवा समूह, नेपाल प्रहरी र मन्दिर व्यवस्थापन समितिको समन्वयमा सुरक्षा तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको थियो। भक्तजनहरू बिहानैदेखि लाइनमा बसेर दर्शन गरी पुजाआजा गरेका थिए।

मन्दिर परिसरमा भजन, नाचगान, र विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसले धार्मिक वातावरणलाई अझ उल्लासमय बनाएको थियो।

उग्रचण्डी भगवती मन्दिर काभ्रे जिल्लाको एक प्रमुख शक्तिपीठ मानिन्छ र प्रत्येक वर्षको दशैंमा यहाँ हजारौं भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्।