हिजो असोजको १३ गते सोमबारदेखि देशब्यापी प्रदर्शनमा आएका नेपाली फिल्मले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेका छन् ।
गतवर्षको दशैंमा भन्दा यसवर्षको फूलपाती कमाइमा गिरावट देखिएको छ । यद्यपी, कमाइको स्पष्ट चित्र भने दशैं बिदासम्म देखिनेछ ।
रियल टाइम सिनेपाः बक्सअफिसमा यी तीन फिल्मको ओपनिङ कमाइको विवरण बाहिर आएको छ । ‘बलिदान’ले २४४ शोजबाट ५७ लाख १९ हजार ३४० रुपैयाँ ग्रसको ओपनिङ गरेको छ ।
‘हरिबहादुरको जुत्ता’ले १३४ शोजबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ ग्रसको ओपनिङ गरेको छ ।
‘माइतीघर’ले सोमबार १४४ शोजबाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ ग्रस कमाइ गरेको बक्सअफिसमा उल्लेख छ ।
आउँदो शनिबारसम्म दशैंको बिदा भएकाले यी फिल्मसामु अझैपनि राम्रो ब्यापारको सम्भावना कायमै छ । यद्यपी, यी फिल्मको व्यवसायिक भविष्य बलियो ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।