बाँके— जिल्लाको खजुरा गाउँपालिका–४ मा एक व्यक्ति तलाउमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ५१ वर्षीय पोमबहादुर थापा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थापा शनिबार दिउँसो मदिरा सेवनपछि खजुरा गाउँपालिका कार्यालय पछाडि रहेको बाबाकुटी तलाउमा पसेका थिए। पौडी खेलेर तलाउ पार गर्न खोज्दा उनी बीचमै डुबेर बेपत्ता भएको स्थानीयले देखेका थिए।

घटना भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी निरीक्षक पूर्णबहादुर केसीको नेतृत्वमा ७ सदस्यीय टोली खोजीमा खटिएको थियो। तर शनिबार साँझसम्म फेला नपरेपछि टोली फर्किएको थियो।

आइतबार बिहान थापाको शव पानीमा तैरिरहेको अवस्थामा देखिएपछि प्रहरीले निकालेर भेरी अस्पताल, नेपालगञ्जमा पोष्टमार्टमका लागि पठाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।