काठमाडौँ, ३० असोजः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

नेता डा कोइरालाले भन्नुभयो, “सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ । यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ ।”

राजनीतिक दल, जेनजी पुस्तालगायत सबैैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएको उहाँको भनाइ थियो । उहाँले निर्वाचनको वातावरण बनाउन गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्ने बताउनुभयो । नेता डा कोइरालाले त्यसक्रममा जेलवाट भागेका अपराधीहरुलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्नु नहुने बताउनुभयो ।

‘कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी’ बनाउन आगामी मंसिर महिनामा पार्टीको  १५औं महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै उहाँले नियमित महाधिवेशनवाट मात्र सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन सम्भव हुने उहाँको भनाइ थियो ।

एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तन कांग्रेस आजको आवश्यकता भएको बताउँदै नेता डा कोइरालाले २०७९ सालमा कांग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारण कारबाहीको सिफारिसमा परेको सबैका कारबाही फिर्ता गर्न माग गर्नुभयो ।