काठमाडौं । भदौ २३ र २४ को जेनजी प्रदर्शनको बलमा सुशीला कार्की नेतृत्वको सरकार बनेको ४० दिन बितेको छ । भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गते निर्वाचन गर्ने अभिभारा पनि सुम्पेका थिए ।
लगत्तै कार्कीले दुई चरणमा गरेर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । अहिलेसम्म सात मन्त्री र एक प्रधानमन्त्री गरी आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नसक्ने व्यवस्था छ । सोअनुसार २१ मन्त्री र तीन राज्यमन्त्री र प्रधानमन्त्री संघीय सरकारमा रहन सक्नेछन् । तर वर्तमान प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने बताइसकेकी छन् । एक मन्त्रीलाई दुईदेखि तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री आफैंले आठवटा मन्त्रालयको कार्यभार सम्हालेकी छन् ।
४० दिनसम्म पनि कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि असन्तुष्टिका स्वर निस्किन थालेका छन् । स्वयं जेनजीका विभिन्न समूहले आफूहरूको सिफारिसमा मन्त्री नियुक्त गर्न दबाब दिँदै आएका छन् । यस्तो अवस्थामा वृद्ध प्रधानमन्त्री कार्की निकै समस्यामा परेकी छन् । जेनजीको कुन असली सिफारिसलाई मन्त्री नियुक्त गर्ने भन्ने अन्योल देखिएको छ । यस्तो अवस्थामा पुराना राजनीतिक दलका नेताहरुको भित्री तयारी निकै गम्भीर रहेको हल्ला सुनिन थालेको छ । प्रतिनिधिसभा पुनःस्थापना गरेर मात्र जेनजीको माग पूरा हुन सक्ने भन्दै अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीलाई विस्थापित गर्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा अर्को निर्दलीय सरकार बनाउने खेलसमेत भइरहेको बुझिएको छ । तिहारको बिदा सकिएलगत्तै सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी परेको रिटको सुनुवाइ सुरु गर्ने भएको छ ।
यसैबीच, ४० दिनसम्म पनि सरकारले पूर्णता पाउन नसकेपछि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बालेनले प्रधानमन्त्री सुशीला कार्कीबीच भेटेका छन्। प्रधानमन्त्रीको निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारको प्रक्रिया र जेनजी आन्दोलनमा घाइते भएकाहरूको अवस्थाबारे छलफल भएको छ ।
बालेनले जेनजी आन्दोलनको मागअनुसार कदम चाल्नुपर्नेमा जोड दिएका छन् । जवाफमा प्रधानमन्त्री कार्कीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको र निर्वाचन तथा सुशासन केन्द्रमा राखेको बताएकी छिन्। साथै, बालेनले जेनजीलाई मन्त्री नियुक्त गर्न दबाब दिएको स्रोतले बतायो ।





































