काठमाडौं । विघटित माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ३० वर्षपछि माओवाद विचारधारा परित्याग गरेका छन् । २०५२ फागुन १ गतेदेखि नेपालमा सशस्त्र माओवादी विद्रोह सुरु गरेका प्रचण्डले अहिले त्यही विचारधारा गलत भएको निष्कर्ष निकाल्दै विभिन्न साना वामपन्थ घटक र समूहसँग एकता गर्ने निर्णय गरेका छन् ।
अहिलेको अवस्थामा आइपुग्न हिजो १० वर्षे सशस्त्र द्वन्द्वमा आफूलाई साथ र सहयोग गर्ने सबै नेतालाई प्रचण्डले पार्टीबाट निकालेका छन् । जसको सूची निकै लामो हुन्छ । सुरुमा मोहन वैद्य किरण, बाबुराम भट्टराई, सीपी गजुरेल, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायत ठूला नेतालाई पार्टीबाट निकालेका प्रचण्डले अन्तिम समयसम्म साथ दिने जनार्दन शर्मालाईसमेत सँगै राख्न सकेनन् ।
पछाडि फर्केर हेर्दा प्रचण्डलाई माओवादी आन्दोलनमा साथ दिने मुख्य नेताहरु कोही पनि रहेनन् । अहिले उनले जोसँग पार्टी एकता गर्दैछन् र माओवादीमै साथ दिनेछन् ती सबै भ्रष्टाचार आरोपी र कुनै न कुनै काण्डमा मुछिएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेका नेता हुन् । उनी पहिले ललिता निवास जग्गा प्रकरणमा समेत मुछिएका थिए ।
तर उनलाई जोगाइएको थियो । प्रचण्डलाई साथ दिने वर्षमान पुन र नन्दबहादुर पुन सुनकाण्डका आरोपी हुन् । कृष्णबहादुर महरा त अहिले जेलमा छन् । चिनियाँ सुन तस्करसँग वर्षमान र नन्दबहादुर पुनको बाक्लो बसउठ भएको प्रहरी अनुसन्धानमा खुलेको छ । वर्षमानकी पत्नी ओनसरी घर्तीमगर पनि सुनकाण्डमा मुछिएकी छन् ।
सुनकाण्ड र पतञ्जली काण्डका आरोपीसँगै मिलेर प्रचण्डले कस्तो समाजवाद ल्याउन लागेका हुन् भनेर अहिले पुराना माओवादी नेता कार्यकर्ताले प्रश्न गर्न थालेका छन् । पहिलो संविधानसभामा माओवादी सबैभन्दा ठुलो पार्टी बन्यो, तर संविधासभा विघटन गरियो।माओवादी र एमालेबीच एकता भएर झण्डै दुई तिहाइ मत आयो, त्यसको पनि अपमान गरियो। जनताले ठूलो पार्टी बनाइदिएर पनि जनताको पक्षमा केही गर्न नसक्दा जेनजी विद्रोह भएको यथार्थ हो । तर आफ्नो स्वार्थका लागि जनताको मतको अपमान गर्ने, विचार विरासत सिध्याउने र दलालीकरणलाई संस्थागत गर्ने आरोप प्रचण्डमाथि लागेको छ ।






































