काठमाडौं— बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र बिना ल्याइएका चिनियाँ सामानसहित सशस्त्र प्रहरी बलले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रबाट एक व्यापारीलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता नायव महानिरीक्षक मनिष थापाका अनुसार बाह्रबिसे नगरपालिका–४ बाट एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने व्यक्ति बाह्रबिसे नगरपालिका–६ का शिवलाल तामाङ रहेका छन्।

तातोपानीबाट खाडीचौरतर्फ जाँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर गाडीमा अवैध रूपमा सामान ओसारपसार भइरहेको सूचनाका आधारमा लामोसाँघुस्थित सशस्त्र प्रहरी बलको सुरक्षा टोलीले गाडी जाँच गरेको थियो। जाँचका क्रममा सामानसँग सम्बन्धित बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र फेला नपरेपछि गाडी चालक तामाङलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले जनाएको छ।

बरामद गरिएका सामानमा स्टेशनरी, खेलकुद सामग्री तथा विभिन्न किराना सामान रहेका छन्। ती सामानको अन्दाजी मूल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको मूल्य करिब १५ लाख रुपैयाँ रहेको बताइएको छ। यसरी कुल बरामद मूल्य २२ लाख २२ हजार १० रुपैयाँ पुगेको छ।

नियन्त्रणमा लिइएका तामाङलाई बरामद सामान र गाडीसहित आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकमा बुझाउने प्रक्रिया भइरहेको प्रवक्ता थापाले जानकारी दिएका छन्।