इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उनी आबद्ध क्लबले जानकारी दिएको छ ।
बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ । ग्वायाकिल पछिल्ला वर्षहरूमा गिरोह हिंसाको प्रमुख केन्द्रका रूपमा चिनिन थालेको छ र हालैका महिनाहरूमा इक्वेडरका थुप्रै फुटबल खेलाडीहरू आक्रमणको निशानामा परेका छन् ।
३३ वर्षीया पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोट चरणमा इक्वेडरको राष्ट्रिय टोलीमा समावेश भएका थियो । यद्यपि सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको अन्तिम चरणका लागि भने उनी छनोट हुन सकेका थिएन । उनले सन् २०२२ मा ब्राजिलको क्लब फ्लुमिनेन्सका लागि पनि व्यावसायिक फुटबल खेलेका थिए ।
उनको क्लब बार्सिलोना एससीले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै भनेको छ, “गहिरो दुःखका साथ यो जानकारी गराइन्छ कि हाम्रा खेलाडी मारियो पिनिडाको निधन भएको छ । उनीमाथि भएको आक्रमणपछि यो दुःखद घटना घटेको हो ।” क्लबले परिवारप्रति समवेदना व्यक्त गर्दै न्यायको माग पनि गरेको छ ।
पिनिडाको मृत्युको पुष्टि इक्वेडरको गृह मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार घटनाको गम्भीरता हेर्दै विशेष प्रहरी एकाइ परिचालन गरी विस्तृत अनुसन्धान सुरु गरिएको छ । अपराधी पहिचान र पक्राउका लागि सुरक्षा निकाय सक्रिय रूपमा खटिएको मन्त्रालयले जनाएको छ ।
डिजिटल समाचार माध्यम प्रिमिसियासका अनुसार मोटरसाइकलमा सवार दुई जना व्यक्तिले पिनिडामाथि आक्रमण गरेका थिए । ती आक्रमणकारीहरूले उनी, उनकी आमा तथा अर्को एक महिलामाथि अन्धाधुन्ध गोली प्रहार गरेको रिपोर्ट गरिएको छ । घटनामा अन्य घाइतेहरूको अवस्था र आक्रमणको कारणबारे थप विवरण सार्वजनिक भइसकेको छैन ।
यसअघि सेप्टेम्बर महिनामा इक्वेडरको दोस्रो डिभिजनका तीन जना फुटबल खेलाडीको हत्या भएको थियो, जसमा एक जनाको हत्या कथित रूपमा खेलकुद सट्टेबाजीसँग जोडिएको बताइएको थियो । त्यसको एक महिनापछि स्थानीय फुटबल खेलाडी ब्रायन एङ्गुला पनि गोली हानाहानमा घाइते भएका थिए । जसले खेलकुद क्षेत्रसमेत आपराधिक हिंसाबाट सुरक्षित नरहेको देखाएको छ ।
कुनै समय ल्याटिन अमेरिकाकै सुरक्षित मुलुकमध्ये एक मानिने इक्वेडर पछिल्ला वर्षहरूमा गम्भीर सुरक्षा सङ्कटमा फसेको छ । कोलम्बिया र पेरुजस्ता प्रमुख कोकेन उत्पादक राष्ट्रहरू र विश्वका उपभोक्ता बजारबीचको मुख्य ट्रान्जिट हब बनेपछि देशमा लागुऔषध तस्करीसँग सम्बन्धित गिरोहहरूको प्रभाव बढेको छ ।
विशेषगरी ग्वायाकिलमा कार बम विस्फोट, गोलीबारी र फिरौतीका घटना तीव्र रूपमा बढिरहेका छन् । आधिकारिक तथ्याङ्कअनुसार जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा मात्र ग्वायाकिलमा करिब एक हजार ९०० हत्याका घटना दर्ता भएका छन्, जुन इक्वेडरका अन्य सहरहरूमध्ये सबैभन्दा बढी हो । यस्ता घटनाले देशको खेलकुद, सामाजिक सुरक्षा र समग्र स्थायित्वप्रति गम्भीर प्रश्न खडा गरेको छ ।






































