ताप्लेजुङ— ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघु लेकुवामा भरुवा बन्दुक पड्किँदा २६ वर्षीय युवकको मृत्यु भएको छ। स्थानीय फुर्वा रेन्जी शेर्पा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वडाध्यक्ष खगेन्द्रसिं थक्लुङबाट प्राप्त सूचनाका आधारमा शेर्पालाई तिलोकसिंह लिम्बुको अलैँची बारीमा मृत भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा भरुवा बन्दुकमा बारुद हाल्ने क्रममा अचानक बन्दुक पड्किएर घाँटीमा चोट लागी घटनास्थलमै उनको मृत्यु भएको देखिएको छ।

घटनाका बेला मृतकसँगै रहेका उनका १८ वर्षीय भतिज सोनम शेर्पाले प्रहरीसमक्ष दिएको बयानअनुसार दुर्घटना भएको बताइएको छ। अनुसन्धानका लागि सोनमलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

घटनास्थल प्रहरी चौकी साँघुबाट करिब दुई किलोमिटर टाढा रहेको छ। प्रहरी सहायक निरीक्षक प्रदीपकुमार मधुवन तथा इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक दीपक लिम्बूको नेतृत्वमा खटिएको टोलीले कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ।