काठमाडौं— आज अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिनका अवसरमा देशभर १३औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। “मेरो शान, मेरो पहिचानः राष्ट्रिय पोशाक संरक्षण अभियान” भन्ने नाराका साथ यस वर्षको टोपी दिवस मनाइएको हो।
नेपाली टोपीको पहिचान, महत्व र संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा पञ्चेबाजासहित प्रभातफेरि निकालिएको थियो। प्रभातफेरिमा सहभागीहरूले नेपाली टोपी र राष्ट्रिय पोशाक लगाएर सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए।
कार्यक्रममार्फत नेपाली मौलिक पहिचानको प्रतीक मानिने टोपी तथा राष्ट्रिय पोशाकको संरक्षण र प्रवर्द्धनमा सबैको ध्यानाकर्षण गराइएको आयोजकले बताएका छन्। पछिल्लो समय आधुनिकताको प्रभावका कारण मौलिक पोशाक ओझेलमा पर्न थालेकाले यस्ता दिवसले राष्ट्रिय पहिचान जोगाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन मनाइँदै आएको छ।






































