काठमाडौं— सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

यसअन्तर्गत २८ करोड ५० लाख रुपैयाँबराबरको २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ भने बाँकी ९ लाख ९७ हजार ५०० कित्ता वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिनेछ ।

त्यस्तै, सर्वसाधारणलाई छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म खुला रहनेछ ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । कम्पनीले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।