वीरगञ्ज । वीरगञ्जस्थित सुख्खा बन्दरगाहामा कोइला ह्यान्डलिङ गर्ने तरिकामा आएको परिवर्तनले समस्या थपिएको छ । अहिले कोइला सीधै नेपालभित्रै अनलोड हुन थालेपछि त्यहाँ वरपरका बासिन्दाहरू समस्यामा परेका छन् ।

यसअघि रेलमार्फत आउने कोइला भारतको रक्सौल रेल्वे यार्डमा अनलोड हुन्थ्यो । तर, अहिले सो प्रणाली परिमार्जन गर्दै कोइला सीधै बन्दरगाह  वीरगञ्जमै अनलोड गर्न थालिएको छ, जसले गर्दा धुलो प्रत्यक्ष रूपमा मानव बस्ती नजिक फैलिरहेको छ ।

स्थानीय प्रकाश तिवारीले बताए अनुसार, दैनिक रूपमा घर, सडक र वरपरका क्षेत्रमा कालो धुलो जमिरहेको छ। हावामा लगातार प्रदूषण रहँदा सास फेर्न गाह्रो हुने समस्या बढेको छ ।

यस विषयमा मुख्य रूपमा नेपाल इन्टर मोडेल ट्रास्पोर्ट विकास बोर्डमाथि प्रश्न उठन थाल्न लागेको छ ।

कोइला जस्ता धुलो उत्पन्न गर्ने सामग्रीको व्यवस्थापनका लागि प्रयोग गरिने संरचनाहरू बस्तीबाट टाढा राख्नु पर्ने तिवारी बताउँछन् ।

वीरगञ्ज वडानम्बर २५ का वडाअध्यक्ष आशुतोष चतुर्वेदीले बारम्बार यस विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा समेत वास्ता नगरेको बताए । ‘कोइला तत्काल सुख्खा बन्दरगाहमा अनलोड बन्द होस् । यसबाट छेउको गाउँ मात्रै नभई अन्य क्षेत्र समेत प्रभावित भैरहेको अवस्था छ’, उनले भने । यसकाविरुद्ध केही दिनमै बन्ने सरकारमा डेलिगेसन जाने वडाध्य्क्ष चतुर्वेदीको भनाइ छ ।

बन्दरगाह क्षेत्रमा मकै, सोयाबिन, चामल, चिनी, नुन जस्ता खाद्य सामग्री र मलसमेत ठूलो मात्रामा भण्डारण तथा ढुवानी हुने गर्दछ । यस्तो अवस्थामा कोइलाको धुलो यी वस्तुहरूमा मिसिन सक्ने जोखिमले खाद्य सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर पार्ने सम्भावना पनि रहेको देखिन्छ ।