सिरहा । सिरहामा एक व्यक्तिको गोली हानी हत्या भएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन । सिरहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको माघ १६ गते सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा ट्याक्टरले खेत जोतिरहेका बेला गोली प्रहार गरी हत्या भएको थियो ।
मृतकका भाइ अभयनाथ यादवका अनुसार घटनाका बेला रामबिलास यादव र रामप्रसाद महरा प्रत्यक्षदर्शी रहेकाले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । २३ दिनपछि दुवै जना रिहा भएका थिए । तर प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन ।
मृतकका भाइ अभयनाथ भन्छन्, ‘प्रहरीले घटनाको अनुसन्धान भइरहेको छ भन्छ तर अहिलेसम्म ठोस प्रगति देखिएको छैन ।’ हत्यामा संलग्नलाई कारबाही र परिवारलाई न्यायको अनुभूति दिलाउनुपर्ने उनले माग गरे ।
मृतक प्रेमनाथका १७ र १४ वर्षका दुई छोरा छन् । बुवाको निधनपछि उनीहरूको भविष्य अन्योलमा पर्ने चिन्ता छ । कक्षा १० मा अध्ययनरत जेठो छोरा रामजन्म भन्छन्, ‘हाम्रो सबै सहारा बुवा हुनुहुन्थ्यो, बुवा नै नरहेपछि अब हाम्रो भविष्य के हुन्छ भन्ने चिन्ता लागेको छ ।’
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले घटनाको सक्रिय अनुसन्धान जारी रहेको बताए । प्रारम्भिक चरणमा प्रत्यक्षदर्शीका रूपमा दुई जनालाई सोधपुछका लागि ल्याइएको र बयान लिएपछि छाडिएको उनले जानकारी दिए । उनका अनुसार साथै हालसम्म १४ जनालाई अनुसन्धानको दायरामा ल्याइएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि अनुसन्धानमा समन्वय भइरहेको उनले बताए ।
एसपी पाठकका अनुसार प्रत्यक्षदर्शी दुई जनालाई प्रारम्भिक चरणमा अनुसन्धानका लागि ल्याउँदा उनीहरूले केही खुलाउन चाहेका थिएनन् । तर अनुसन्धान अगाडि बढ्दै जाँदा ती दुई जनाबाट केही महत्वपूर्ण सूचना प्राप्त भएको छ । त्यसपछि उनीहरूलाई साधारण तारिखमा छाडिएको उनले बताए । उनका अनुसार अनुसन्धानको क्रममा ल्याइएका सबै व्यक्तिहरूलाई प्रहरीको निगरानीमै राखिएको छ र आवश्यक परे जुनसुकै बेला पुन: नियन्त्रणमा लिन सकिनेछ ।
तर प्रत्यक्षदर्शी स्वयंले नै घटना गरेको हो वा होइन भन्ने कुरा हालसम्म स्पष्ट हुन नसकेको उनको भनाइ छ । यद्यपि पीडित पक्षले छिट्टै न्याय पाउँछ भन्नेमा ढुक्क रहन उनले आग्रह गरे । ५२ दिन बितिसक्दा पनि हत्यारा पक्राउ किन हुन सकेन भन्ने प्रश्नमा एसपी पाठकले भने, ‘अनुसन्धानका क्रममा कहिलेकाहीँ ढिलाइ हुन सक्छ, अन्तत: दोषी पक्राउ पर्नेमा विश्वस्त रहन अनुरोध गर्दछु ।’






































