काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा आज (चैत १२) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मंगलबार (चैत १०) भएको बहस नसकिएपछि आज सुनुवाइ गर्ने तय गरेको हो ।

रिट निवेदकको तर्फबाट बहस सकिएको छ । आजको बहसमा सरकारी वकिल र रवि पक्षका वकिलले प्रतिवाद गर्नेछन् ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवादको रूप लिएको थियो । भण्डारीले गत २ माघमा लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । त्यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकीलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् ।

भण्डारीले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद लिएको हो । महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेलले रिट दायर गरेका हुन् ।