काठमाण्डौ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले दिउसो १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने भएका हुन् । शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार, अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शाहको शपथमा केही नयाँ र अनौठा अभ्यास हुने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिउँसो हुने शपथका लागि मञ्च पनि नयाँ बनाइएको छ ।
शीतल निवासको मूलढोका अगाडि रहेको मञ्चमा बालेनको शपथ हुने छैन । बालेनकै चाहनामा शपथका लागि उत्तरतर्फ फर्केको मञ्च बनाइएको छ । प्रधानमन्त्रीको शपथका बेला विभिन्न जातीय संस्कृति झल्किने कलाचित्र राखिने भएको छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन ।




































