काठमाण्डौ । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्न आवश्यक सबै प्रक्रिया पूरा भइसकेको जनाएको छ।
अपराध अनुसन्धान कार्यालय टेकुका उच्च अधिकारीका अनुसार पक्राउका लागि कागजात, आदेश र कानुनी प्रक्रिया सबै तयार भइसकेका छन्। ओलीको निवास आसपास बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ, जसले अवस्थालाई झनै संवेदनशील बनाएको छ।
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि घटनाले तीव्र मोड लिएको हो। उक्त प्रतिवेदनले ओली र लेखकलाई ज्यान लिएको कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।
गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै अन्ततः कानुनी प्रक्रिया अघि बढाएका थिए। कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना लाई समेत मध्यरातमा बोलाएर लिखित आदेश तयार पारिएको थियो।
मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाहीपूर्ण तरिकाले ज्यान लिएको आरोपमा कारबाही सिफारिस गरिएको छ। अब प्रहरीले जुनसुकै बेला दुवै नेतामाथि कारबाही अघि बढाउने संकेत देखिएको छ, जसले देशको राजनीतिक वातावरण थप तातिने निश्चित देखिन्छ।






































