काठमाण्डौ  ।   पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले बिहानै  पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा भक्तपुर कटुञ्जेबाट बिहान करिब ५:४० बजे उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जरुरी पक्राउ पुर्जीका आधारमा उनलाई समातिएको हो र हाल काठमाडौँ ल्याइँदै गरिएको छ। भदौ २३ को जेनजी प्रदर्शनका बेला गृहमन्त्री रहेका लेखकको कार्यकालमै नयाँ बानेश्वरमा गोलीकाण्ड हुँदा किशोरहरूको ज्यान गएको थियो। सो घटनापछि उनले त्यही दिन राजीनामा दिएका थिए।

उक्त घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले केपी शर्मा ओली र लेखकसहित उच्च सुरक्षा अधिकारीमाथि फौजदारी अनुसन्धान सिफारिस गरेको थियो।प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि घटनाले तीव्र मोड लिएको हो।

गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै अन्ततः पक्राउ प्रक्रिया अघि बढाएका थिए। यस पक्राउसँगै देशको राजनीतिक माहोल झनै तातिने संकेत देखिएको छ, र अब अन्य उच्च पदाधिकारीमाथि पनि कारबाहीको चक्र अघि बढ्ने सम्भावना बलियो बनेको छ।