काठमाडौं— काठमाडौंमा उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतले प्रतिपादन गरेका बाध्यकारी कानुनी सिद्धान्त पालना नगरी फैसला गरेको आरोप लगाउँदै निवेदन दिएका हुन्। उक्त मुद्दाको पेसी चैत १८ गतेका लागि तोकिएको छ।

निवेदनमा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ प्रयोग गरेको विषयमा उच्च अदालतले रिट खारेज गर्दा स्थापित कानुनी सिद्धान्त बेवास्ता गरिएको दाबी गरिएको छ। संविधानअनुसार सर्वोच्च अदालतका सिद्धान्त सबैले पालना गर्नुपर्ने व्यवस्था हुँदाहुँदै त्यसको उल्लंघन गरिएको भन्दै कारबाहीको माग गरिएको छ।