रामेछाप— ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइरहँदा रामेछापका सहकारी अभियन्ता र सरोकारवालाले सहकारी आन्दोलन सङ्कटमा परेको बताएका छन् ।

जिल्ला सहकारी संघले शुक्रबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापको अध्यक्ष जगन्नाथ दाहालले सहकारी सञ्चालन अब निक्कै चुनौतीपूर्ण रहेको बताए ।

सहकारीलाई सुशासनयुक्त बनाएर अनुशासित नबनाउने हो भने यो आन्दोलन थप सङ्कटमा पर्दै जाने बताए । अहिले पनि सहकारी अभियानमा लागेका सातसय बढी मानिसहरू थुनामा रहेका उनले स्मरण गराए ।

‘अब हिजोको झैँ गरी होइन, सहकारीको नीति, विधि सबै बुझेर मात्र सहकारी चलाउनु पर्ने अवस्था आएको छ, नत्र निर्दोष मानिस पनि फस्ने जोखिम छ, सहकारीमा लाग्नेहरू रोएर हिँड्नु पर्ने अवस्था छ’, उनले भने ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सहकारीको मुख्य भूमिका साना किसान र व्यवसायीलाई सहयोग गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने कुरामा ध्यान जानुपर्ने बताए ।

कमजोर व्यवस्थापन र नेतृत्वले अब सहकारी चल्न नसक्ने उनले बताए । सहकारीमा अब दक्ष मानिसको प्रवेश, वित्तीय अनुशासन, सदस्यको बचतको सदुपयोग जस्ता कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

दिवसको अवसरमा जिल्ला सहकारी संघ रामेछापले प्रभातफेरी, प्रवचन सहकारी सम्बन्धी प्रश्नोत्तर कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहकारी अभियन्ता तथा सहकारीका कर्मचारीहरूको सहभागिता थियो ।