काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालले पूँजीबजारमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै ६ बुँदे मागपत्र बुझाएको छ । एशोसिएशनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमा हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ५२ वटा ब्रोकरहरू सक्रिय रहेको अवस्थामा नयाँ सरकार र अर्थमन्त्रीबाट ठूलो आशा राखिएको उल्लेख गरिएको छ । धितोपत्र दलाल व्यवसायीहरूले भोग्दै आएका समस्याहरू समाधान भएमा मात्र पूँजीबजारको विकास हुने र लगानीकर्ताको मनोबल बढ्ने विश्वास एशोसिएशनले व्यक्त गरेको छ ।

सुधारका लागि अघि सारिएका मागहरूमा पूँजीबजार सुधार कार्यदलले दिएका तर हालसम्म कार्यान्वयन हुन बाँकी सुझावहरूलाई तत्काल लागू गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज रूपमा प्रवेश र बहिर्गमनको व्यवस्था मिलाउन तथा शेयर खरिद गरेको ६ महिनापछि मात्र बिक्री गर्न पाउने हालको प्रावधान हटाउन माग गरिएको छ । साथै, गैर आवासीय नेपालीहरूलाई पनि दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने वातावरण बनाउन एशोसिएशनले सरकारसँग आग्रह गरेको छ ।

कर र प्राविधिक पक्षका सम्बन्धमा, आगामी बजेटमार्फत पूँजीगत लाभकरलाई नै अन्तिम करका रूपमा स्पष्ट पार्नुपर्ने र सरकारी संस्थानहरूमा रहेका विभिन्न कोषहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने माग राखिएको छ । शेयर बिक्री गरेरपनि हस्तान्तरण हुन नसक्दा लगानीकर्ता ‘क्लोज आउट’को मारमा परिरहेको भन्दै सो समस्या समाधानका लागि ‘अक्सन मार्केट’ यथाशीघ्र सञ्चालन गर्न र वि.सं. २०७५ तथा २०७९ मा बनेका कार्यविधिहरू अनुरूप सेटलमेन्ट ग्यारेन्टी फण्डलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन नियामक निकायलाई आवश्यक निर्देशन दिन एशोसिएशनले अर्थमन्त्रीसँग जोडदार माग गरेको छ ।